कारोबार रकमसंगै नेप्से परिसूचक १८.८० अंक घट्यो

काठमाडाैं, १० वैशाख । साताकाे पहिलाे काराेबार नेप्से परिसूचक १८.८० अंक घटेकाे छ । साथै यस दिन कारोबार रकम पनि घटेकाे छ ।

यस दिन नेप्से परिसूचक १८.८० अंक घटेर १८८५.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । दिन २६५ स्टकको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको २७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सनराइज फोकस्ड इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन मोलुङ्ग हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहको परिसूचक मध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।