शेयर बजारमा झिनो अङ्कको सुधार
काठमाडाैं, ११ वैशाख । साताको दोस्रो कारोबार दिन शेयर बजारमा झिनो अङ्कको सुधार भएकाे छ ।
यस दिन नेप्से परिसूचक २.७१ अंक बढेर १८८८.३२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२३ अंक बढेको छ ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २७० स्टकको ३३ हजार २१३ पटकको कारोबारमा ७५ करोड १३ लाख रुपैयाँ बराबरको २२ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पिपुल्स पावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.११ प्रतिशत बढेको छ। त्यसैगरी, एनआईबिएल प्रगति फण्डको इकाईमूल्य करिब ८ प्रतिशत बढेको छ। पछिल्लो १६ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको कालिञ्चोक दर्शनको शेयर यस दिन सबैभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब ३ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत बढेको छ ।