बेवारिसे गाईबाच्छा संरक्षणका लागि पशुपतिमा गोरक्ष महायज्ञ

काठमाडाैं, १३ वैशाख । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ ।

दुई सय बेवारिसे गाईबाच्छाको संरक्षणका लागि यही वैशाख २२ देखि २८ गतेसम्म गोरक्ष महायज्ञ गरिने भएकाे हाे ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्षण गरिरहेका महायज्ञका संयोजक उत्तम पुडासैनीका अनुसार सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले पहिलोपटक यस्तो महायज्ञ गर्न लागिएको र महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुहुने भएको छ ।

पुडासैनीले गाईबाछा संरक्षण अभियानअन्तर्गत दुई सय बढी बेवारिसे गाईबाच्छालाई आश्रय दिइरहेका छन् । गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या पनि अहिले बढ्न थालेको र यस अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ ।

यसै क्रममा गोरक्ष महायज्ञ गर्न लागिएको आयोजक समितिले जनाएको छ । त्यस्ता गाईबाच्छा संरक्षणका लागि नगरपालिकाले एम्बुलेन्स पनि उपलब्ध गराइसकेकाे छ । अभियानले २०७५ जेठ १ गतेदेखि बेवारिसे गाईबाच्छा संरक्षणका लागि काम गर्दे आएको छ ।