४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति

काठमाडौं, १४ वैशाख । नेपाल पर्यटन बोर्डले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरेको छ।

अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो।

सगरमाथाको वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिलाले अनुमति लिइसकेका छन्। यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन्। दोस्रोमा अमेरिकी छन्। ८७ जना अमेरिकीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।

नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाका अनुसार यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड ३ लाख ६७ हजार २ सय १९ रुपैयाँ रोयल्टी रकम संकलन भएकाे छ । याे रकम ७० वर्षे इतिहासकै सबैभन्दा बढी हाे ।

निर्देशक खतिवडाले अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्ने बताएका छन् ।

६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन्।