नेप्से ओरालोकै निरन्तरता, कारोबार रकम भने बढ्यो

काठमाडाैं, १७ वैशाख । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत बुधबारदेखि निरन्तर ओरालो लागेकाे नेप्से आजपनि घटेर बन्द भएकाे हाे ।

यस दिन नेप्से परिसूचक १९.११ अंक घटेर १८७०.६५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ ।

नेप्से परिसूचक ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २७१ स्टकको २६ हजार ८०१ पटकको कारोबारमा ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको ३२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार २१९ स्टकको शेयरमूल्य घटेको छ भने ४६ स्टकको मूल्य बढेको छ। यस दिन एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य सर्वाधिक ३.३३ प्रतिशत बढेको छ।

त्यसैगरी, प्रभु बैंकको ऋणपत्रको मूल्य यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ८.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक, वित्त, जलविद्युत, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।