दगाममा उत्पादित मह विदेश निर्यात, माैरीपालक कृषक उत्साहित

तनहुँ, १८ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् ।

प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती देशमा बढीमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ । विदेशमा प्रतिकिलो रु दुई हजार पाँच सयमा मह बिक्री हुने गरेको उहाँको भनाइ छ । “पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै बिक्री भएको बेला तीन हजार किलोसम्म बिक्री भइराखेको छ ।”

उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ ।” विदेशमा मह बिक्री हुन थालेपछि कृषक उत्साहित भएको उहाँको भनाइ छ । समूहमा ४१ घरधुरीका कृषक आबद्ध छन् । सबै घरधुरीले मौरीपालन गरिरहेका छन् ।

थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ । “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्”, उहाँले भन्नुभयो, “मौरीपालनबाट कृषक सन्तुष्ट छन् ।” यहाँका कृषकले सिजनमा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् ।

मह उत्पादनका तीन सिजन उपयुक्त मानिन्छ । “बढीमा प्रति घार ३० किलोसम्म पनि बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो । कृषक समूहमा उत्पादित मह आफूहरुले सङ्कलन गरेर काठमाडाैंका व्यापारीमार्फत विदेश पठाउने गरेको थापा बताउनुहुन्छ । नेपालमा भने प्रतिकिलो रु एक हजार पाँच सयमा मह बिक्री हुँदै आएको छ ।

दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ । एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ”, तर पछिल्लो समय वनमा लाग्ने डढेलो र प्रदूषणका कारण मह उत्पादनमा कमी आउन थालेको कृषकको गुनासो छ ।

कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकको रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ ।