रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बिमा
पाल्पा, २१ वैशाख । पाल्पाकाे रामपुर नगरपालिकाले मजदुरको हकहित र सुरक्षाका लागि दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् ।
घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बिमा कार्यक्रम सुरु गरेको हो ।
रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको बिमा गरिदिएको छ । बिमा कार्यक्रमले मजदुरलाई राहत पुगेको रामपुर–५ कृषि टोलका श्यामकुमार श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आउनुभएको छ । केही समयअघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते हुनुभयो । उहाँको सबै उपचार खर्च नगरपालिकाले बिमामार्फत बेहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि उहाँ खुसी हुनुुहुन्छ ।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बिमा गरिएको बताउनुभयो । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने न्यौपाने बताउनुहुन्छ ।
घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ सालको जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गत वर्षदेखि दुर्घटना बिमा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ ।”
मजदुरको हकहित र अधिकारको लागि २०७२ सालमा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् । यस कार्यले मजदुर सङ्गठित हुन थालेका छन् ।
संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै रु एक लाखसम्मको दुर्घटना बिमा कार्य सुरु गरेको थियो । ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बिमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउनुहुन्छ ।
समितिले सुरु गरेको दुर्घटना बिमा कार्यक्रममार्फत हालसम्म ७० मजदुरले लाभ लिएका छन् । कामको आधारमा एक दिनको न्युनतम रु छ सय ५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ । तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ ।
समितिमा स्थापनाका समय एक सय १७ मजदुर आबद्ध रही संस्था सुरुआत गरिएको हो । समितिमा आबद्ध पाँच सय ४३ मध्ये हाल करिब ४० प्रतिशत महिला कामदार छन् ।