साताको अन्तिम कारोबारका दिन नेप्सेमा केही सुधार
काठमाडाैं, २१ वैशाख । साताको अन्तिम कारोबारका दिन नेप्सेमा सामान्य सुधार भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बिहीबार भने केही सुधार भएकाे हाे ।
यस दिन नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७६ स्टकको २० हजार ६५५ पटकको कारोबारमा ७३ करोड २६ लाख रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सयपत्री हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन एनएमबि बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल एसबिआई बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ।