लोप हुँदै गुरुङ सस्कृतिकाे घाटु नाच
तनहुँ, २४ वैशाख । अवस्था बदलिएसंगै हरेक टोलमा नचाइने घाटु नाच लोप हुँदै गएकाे छ ।
“पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।”
बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ ।”
उहाँले भन्नुभयो,“अहिलेका पुस्तामा केही कुराको मतलब छैन । पहिला जुन उत्साह थियो, अहिले त्यो छैन । हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा बस्न थाल्यो ।”
आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा घाटु लोपोन्मुख अवस्थामा पुगिसकेको छ । पन्ध्र वर्ष अगाडिसम्म घाटु नचाउने गरिए पनि त्यसयता घाटु नचाउन छाडिएको छ । तर गाउँका केही युवाको सक्रियतामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ ।
स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङको सक्रियतामा लोप हुँदै गएको घाटुको संरक्षणका लागि घाटु नाच सुरु गरिएको हो । बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः सुरु गरिएको स्थानीयवासी सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो ।
स्थानीय रञ्जित गुरुङले घाटु नाचबारे आवश्यक जानकारी सिकेपछि १५ वर्षको अन्तरालमा पहिलोपटक यो नाच प्रदर्शन गरिएको हो । “लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौँ”, उहाँले भन्नुभयो ।
घाटु नाच्नका स्थानीय तीन कन्या छनोट गरिएको छ । उनीहरूलाई तीन–चार दिन नाच्नसिकाइएको थियो ।
गुरुङ सस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सति र बाह्रमासे गरी घाँटु नाच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ ।
गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने बताइन्छ ।
सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ ।