सिटि होटलको आईपीओ आजदेखि खुला

काठमाडाैं, २५ वैशाख । सिटि होटल लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ ।

होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये पहिलो चरणमा छुट्याएर बाँकी बसेकाे १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

होटलको आईपीओमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।