कर्जाको ब्याजदर घट्ने भएपछि नेप्सेमा सुधार
काठमाडाैं, २६ वैशाख । कर्जाको ब्याजदर घट्ने भएपछि मंगलबार नेप्सेमा सुधार देखिएको छ । अघिल्ला दुई कारोबार घटेपनि यस दिन भने नेप्से बढेर बन्द भएको हो।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएसंगै यस दिन बजार बढेको हो।
यस दिन नेप्से परिसूचक १०.६६ अंक बढेर १८४४.३६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८७ अंक बढेको छ ।
अघिल्लो कारोबार ८२ करोडको शेयर खरिदबिक्री भएको यस दिन २६९ स्टकको २० हजार ७७६ पटकको कारोबारमा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको २८ लाख ३६ हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४७ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।।
कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्को करिब साढे ४ करोडको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।