हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
काठमाडाैं, २६ वैशाख । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको हाे ।
सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ ।
पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताउनुभयो ।
वसन्त ऋतुमा हिमाल आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोहीहरू आउँछन् ।
यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् ।
पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिनुभयो । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन् ।
सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ ।
यही वैशाख १० गते नै सगरमाथाको चाैंथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्याउन कठिन भइरहेको छ । उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन् ।
वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।
नेपालमा आठ हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन् ।
–––