स्याङ्जाको भीरकोटमा बाख्राको दूधबाट चीज उत्पादन

स्याङ्जा, २८ वैशाख । स्याङ्जाको भीरकोट–८ ओकादीमा किसान डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन गर्न थाल्नुभएको छ ।

दश वर्षदेखि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उहाँले दुई सातादेखि चीज उत्पादन सुरु गर्नुभएको हो ।

गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आउनुभएको छ । उहाँको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन् ।

भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको हो । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ । दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उहाँको लक्ष्य छ ।

“ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ”, उहाँले भन्नुभयो, “भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ ।”

बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिक्नुभएको हो । दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उहाँ बताउनुहुन्छ । “अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ”, गुरुङले भन्नुभयो, “अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु ।”

मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।”

गुरुङले २०७० सालमा १२ बाख्राबाट व्यवसाय थाल्नुभएको थियो । बाख्रा खरिद र खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरी व्यवसाय थाल्नुभएका गुरुङ अहिले यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।

नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशील अर्यालले चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *