झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर

झापा, २९ वैशाख । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ ।
चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ ।
सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।
उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै रू १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ ।