यातायात कार्यालयमा दर्ता हुनथाल्याे नेपालमै उत्पादित यात्री मोटरसाइकल

काठमाडाैं, २ जेठ । सन् २०२२ देखि व्यावसायिक रूपमा उत्पादन थालेको ‘यात्री मोटरसाइकल’ यातायात कार्यालयमा दर्ता सुरू भएको छ।
आयातको क्रममा प्राप्त हुने सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिदका कारण लामो समयदेखि दर्ता हुन नसकेको यात्री मोटरसाइकल संशोधित यातायात व्यवस्थापन निर्देशिका अनुसार दर्ता हुन थालकाे हाे ।
संघीय सरकारबाट यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरेको थियाे ।
यसअघि नेपालमा बनेका सवारीसाधनलाई कसरी मान्यता दिने, सवारी दर्ता गर्दा आवश्यक प्रज्ञापनपत्रको विकल्प के हुने, सवारी पहिचान नम्बर (भिआइएन) दर्ता कसरी गर्ने, भिआइएन नम्बर दोहोरिन नदिन कस्तो व्यवस्था लागू गरिने विषयमा अन्योल भएकै कारण दर्ता हुन सकेको थिएन।
यातायात व्यवस्थापन निर्देशिका संशोधन भएसँगै यात्रीबाट उत्पादित मोटरसाइकलको दर्ता सम्भव भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता भएका हुन्।