छैटौँ नेपाल चेम्बर एक्स्पो भृकुटीमण्डपमा
काठमाडाैं, ४ जेठ । छैटौँ ‘नेपाल चेम्बर एक्स्पो–२०२३’ राजधानीकाे भृकुटीमण्डपमा आयोजना गरिएको छ ।
निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले निजी क्षेत्रका व्यवसायीको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सले आजदेखि छैटौँ ‘नेपाल चेम्बर एक्स्पो–२०२३’ आयोजना गरिएको हाे ।
मेलामा व्यापारिक अन्तक्रिया, आयातनिर्यातको सूचना आदानप्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइएको चेम्बरले जनाएको छ । प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घराययी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् ।
प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको छ । कूल एक सय ५० ‘स्टल’ रहेको मेलामा नेपाल, भारत तथा बङ्गलादेशका उद्यमी व्यवसायीको सहभागिता छ । प्रदर्शनी यही जेठ ८ गतेसम्म चल्नेछ ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायकोसमेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने चेम्बरको विश्वास छ ।
उद्योग तथा वाणिज्य सचिव मधुकुमार मरासिनीले विभिन्न देश तथा स्वदेशकै विभिन्न क्षेत्रका व्यवसायी–व्यवसायीबीच आर्थिक सम्बन्ध विस्तार तथा अनुभव आदानप्रदान गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो ।
व्यवसाय विस्तारको वातावरण सरकारले बनाउनेमा विश्वस्त हुन आग्रह गर्दै उहाँले सरकार र निजी क्षेत्रले संयुक्तरुपमा लगानी भित्र्याउने र आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि, जलविद्युत्, पर्यटन, सेवा क्षेत्रलगायतमा विदेशी लगानी भित्र्याइ निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।