कीर्तिपुरको मत्स्येन्द्रनाथ विवाद ‘रातारात’ समाधान

याकः मिसालाई फूल चढाउने भव्य रुपमा सम्पन्न

काठमाडौं, जेठ ५ । करिब छ महिनासम्म चलेको कीर्तिपुरको रातो मत्स्येन्द्रनाथ विवाद अन्ततः समाधान भएको छ । रोकिन लागेको परम्परालाई निरन्तरता दिई आज कीर्तिपुरको प्यंगःथांस्थित याकः मिसालाई मत्स्येन्द्रनाथको फूल प्रसाद चढाउने कार्य सम्पन्न भएको छ ।

याकः मिसालाई फूल प्रसाद चढाउन मत्स्येन्द्रनाथका जल पानेजु सुरज शाक्य आफ्ना दुई सहयोगीका आज बिहान कीर्तिपुर पुग्नुभएको थियो । उहाँलाई कीर्तिपुरवासीहरूले बाटैदेखि बाजागाजा बजाई स्वागत गरी प्यंगःथां पुर्याएका थिए । उहाँ थति टोलमा राखिएको मत्स्येन्द्रनाथको रथदेखि खाली खुट्टा हिँडेर कीर्तिपुर पुग्नुभएको हो ।

प्यंगःथांमा उक्त फूल प्रसाद चढाएको हेर्नका लागि आज धेरै मात्रामा मानिसहरू भेला भएका थिए । गएको छ महिनादेखि चर्चामा आइरहेका कारण पनि यो परम्परा अवलोकनका लागि आज धेरै मानिसहरू उपस्थित भएको देखिन्छ । नकारात्मक रुपमा चर्चा चलेको भए पनि यसले कीर्तिपुरको गःछेँ प्यंगःथांमा प्रचलित यो परम्पराबारे भने धेरै प्रचार गरिदिएको पाइन्छ ।

कीर्तिपुरमा फूल प्रसाद चढाउने यो परम्परा पहिले धेरै कम मात्रलाई थाहा थियो । प्यंगःथांमा यो कार्य गरिँदा पनि उपस्थितिको संख्या ज्यादै कम हुने गर्दथ्यो । तर अहिले विवादले प्रचार प्रसारलाई भने व्यापक गरेको पाइन्छ ।

आज कीर्तिपुर आउनुभएका जल पानेजुले सधैँ झैं स्थानीय लक्ष्मीकुमारी महर्जनलाई मत्स्येन्द्रनाथको फूल प्रसाद चढाउनुभएको थियो । अविवाहित महर्जनलाई याकः मिसा एवं कन्या कुमारी मानेर उक्त प्रसाद चढाइएको हो ।

यो प्रसाद चढाउने कार्यलाई अबको चार दिन पछि तानिने मत्स्येन्द्रनाथको जात्रामा सहभागी हुन कीर्तिपुरवासीलाई गरिएको निमन्त्रण पनि भन्ने गरिन्छ ।

बुंगमती पुग्यो विवादित मूर्तिः

यसै बीच प्यंगःथांमा राखिएको मत्स्येन्द्रनाथको विवादित मूर्ति गएको राति बुंगमतीका पानेजुहरूलाई हस्तान्तरण गरिएको छ । उक्त मूर्ति प्यंगःथांबाट हटाई कीर्तिपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । तर पानेजु संघले मूर्ति हटाएर मात्र पुग्दैन, यसलाई गुठी संस्थानलाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग अघि सारे पछि विवाद अझ तन्किएको थियो ।

विवाद समाधान गर्न हिजो कीर्तिपुर नगरपालिकामा अन्तिम बैठक बसेको थियो । अन्ततः बैठकले मत्स्येन्द्रनाथको मूर्ति बुंगमतीका पानेजु संघलाई हस्तान्तरण गर्ने र याकः मिसाको मूर्ति चाहिँ कीर्तिपुरमा निकट भविष्यमै निर्माण गरिने संग्रहालयमा राख्ने निर्णय गरेको थियो । त्यसपछि राति नै रातो मत्स्येन्द्रनाथको मूर्ति पानेजुहरूलाई हस्तान्तरण गरिएको थियो . उहाँहरूले पनि राति नै नगर प्रहरी सहित गाडीमा राखी मूर्ति लिएर जानुभएको थियो । मूर्तिलाई राति नै बुंगमतीस्थित पानेजु संघको कार्यालयमा राखिएको छ ।