दोस्रो हिमालयन पर्यटन प्रवर्धन राइडमा १३२ जना सहभागी हुने
काठमाडौँ, कार्तिक, २७ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको पर्यटन प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले आगामी मङ्सिर ५ गते आयोजना हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जना सहभागी हुने भएका छन् । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा हुने साइकल यात्रामा मकवानपुर र बाराका साइकलप्रेमीको सहभागिता रहने सोसाइटीका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार राइडमा स्वयंसेवकसहित करिब १५० जनाको सहभागिता रहनेछ ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरबाट सुरु हुने साइकल यात्रा कान्ति लोकपथ, चौहडा, शिखर कटेरी, गैरी भञ्ज्याङ, कुर्ले र सुकौरा हुँदै बूढीचौर पुगेर समापन हुनेछ ।
राइडमार्फत बूढीचौरको प्राकृतिक सुन्दरता, पर्यटकीय सम्भावना र स्थानीय गन्तव्यको प्रचारप्रसार गर्ने आयोजकको उद्देश्य रहेको छ । साथै साइकल पर्यटनको विकास र आन्तरिक पर्यटन प्रवर्धनमा समेत यसले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
