विपद् र दुर्घटनामा परेकालाई सघाउन एक करोडको अक्षयकोष स्थापना
काठमाडौँ, कार्तिक, २७ । म्याग्दीको रघुगङ्गा गाउँपालिका १ बेगका बासिन्दाले विपद् तथा दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने उद्देश्यले एक करोड रुपियाँको आपतकालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा हालसम्म ७० लाख रुपियाँ सङ्कलन भइसकेको छ ।
बेगखोला कल्याणकारी समाजको पहलमा स्थापना गरिएको उक्त कोषबाट दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी तथा विपद्बाट प्रभावित व्यक्तिलाई सहयोग गरिने समाजका संस्थापक योगकुमार फगामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अक्षयकोषमा एक करोड रुपियाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको मूलधन सुरक्षित राखेर त्यसबाट प्राप्त हुने ब्याज रकम आपत्कालीन अवस्थामा आवश्यक परेका व्यक्तिको सहयोगमा परिचालन गरिनेछ ।
साविक बेग गाविसअन्तर्गत तिप्ल्याङ, बादुक, बेगखोला, सिम र बेगटोलमा गरी करिब एक हजार जनसङ्ख्या रहेको छ । स्थानीयस्तरमै आपत्कालीन सहयोगको व्यवस्था गर्न अक्षयकोष स्थापना गरिएको समाजले जनाएको छ ।
