सम्पदा अपराध न्यूनीकरण र चोरी भएका वस्तु फिर्ता ल्याउन महानगर र नमुना फाउण्डेसनबीच सहकार्य
काठमाडौँ, कात्तिक २७ । काठमाडौँका सांस्कृतिक सम्पदामा हुने चोरी, क्षति तथा अवैध ओसारपसारजस्ता अपराध न्यूनीकरण गर्दै हराएका र चोरिएका पुरातात्विक वस्तु पहिचान गरी पुनःप्राप्त गर्न काठमाडौँ महानगरपालिका र नमुना फाउण्डेसनबीच पाँच वर्षे सहकार्य भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा सम्पदा संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा विगतभन्दा उल्लेख्य काम भएको उल्लेख गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले यस सहकार्यलाई सम्पदा संरक्षण अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ ।
सम्पदा संरक्षणमा कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा उल्लेख्य काम भएको संयोजक संगतको भनाइ
महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक संगतको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र नमुना फाउण्डेसनका अध्यक्ष रविन्द्र पुरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीअनुसार महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण, जीर्णोद्धार, मर्मतसम्भार, अभिलेखीकरण र सुरक्षा प्रवद्र्धनका लागि दुवै पक्षले सहकार्य गर्नेछन् । विशेषगरी सम्पदा क्षेत्रका मूर्ति, कलाकृति तथा अन्य महत्वपूर्ण पुरातात्विक वस्तुको चोरी र अवैध ओसारपसार नियन्त्रण, हराएका सम्पदाको पहिचान तथा खोजी र तिनलाई सम्बन्धित स्थानमा फिर्ता ल्याउने कार्यलाई प्राथमिकता दिइनेछ ।
समझदारीपत्र आदानप्रदानपछि कार्यवाहक प्रमुख डंगोलले सम्पदा संरक्षण र हराएका प्राचीन सांस्कृतिक वस्तु आफ्नै स्थानमा फर्काउने अभियानलाई सहभागितामूलक र संस्थागत रूपमा अघि बढाउन सहकार्य गरिएको बताउनुभयो । महानगरपालिका, समुदाय र विभिन्न संघसंस्थाले छुट्टाछुट्टै रूपमा गर्दै आएका प्रयासलाई एकीकृत गरी परिणाममुखी बनाउने उद्देश्य रहेको उहाँको भनाइ थियो ।
‘सम्पदाको पहिचान र सचेतना सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले हामी जनप्रतिनिधि, कर्मचारी, सम्पदा क्षेत्रमा पुगेर काम गर्ने जनशक्ति तथा समुदायलाई सम्पदा चिन्ने बनाउँछौँ । सम्पदा चिनेपछि यसको संरक्षणमा थप दायित्वबोध हुनेछ,’ उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले समझदारीपत्रमा हस्ताक्षर भएसँगै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने संस्थागत तथा कानुनी आधार तयार भएको बताउनुभयो । यस सहकार्यले काठमाडौँको स्थापित सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास थियो ।
सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले पुर्खाले हस्तान्तरण गरेको काठमाडौँको खुला संग्रहालय जोगाउने दायित्व पूरा गर्न महानगरपालिकाले नेतृत्व लिनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सहरका गल्ली, चोक र बस्तीमा रहेका प्राचीन कलात्मक सम्पदाको समेत पहिचान तथा अभिलेखीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा विगतको तुलनामा सम्पदा संरक्षण तथा प्रवद्र्धनका काम उल्लेख्य रूपमा अघि बढेको उहाँको भनाइ थियो । सम्पदाको संरक्षण अरू कसैले गरिदेला भनेर पर्खिनुभन्दा महानगरपालिका आफैँले पहिचान, अभिलेखीकरण र संरक्षणको नेतृत्व लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नमुना फाउण्डेसनका अध्यक्ष पुरीले हराएका तथा चोरी भएका सांस्कृतिक सम्पदा फिर्ता ल्याउने अभियान सन् २००३ देखि सुरु गरिएको जानकारी दिनुभयो । अभियान सुरु भएको १० वर्षपछि सन् २०१३ मा राष्ट्रिय अभिलेखालयबाट हराएको वस्तु फिर्ता गराउन सफल भएपछि अभियानले गति लिएको उहाँले बताउनुभयो ।
‘हामीले पछिल्लो पाँच वर्षमा ११८ वटा मूर्ति फिर्ता गरिसकेका छौँ । महानगरपालिकाको नेतृत्वमा काम गरेर आगामी पाँच वर्षमा एक हजारवटा यस्ता वस्तु फिर्ता ल्याउने लक्ष्यसहित सहकार्य थालेका छौँ,’ उहाँले भन्नुभयो ।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले महानगरपालिका र फाउण्डेसनबीचको सहकार्यले प्रभावकारी नतिजा दिन सक्ने बताउनुभयो । सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक वस्तुको संरक्षणमा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै उहाँले महानगरपालिकाको अग्रसरताले समुदायस्तरका सम्पदा अभियन्तालाई समेत प्रोत्साहित गरेको धारणा राख्नुभयो ।
समझदारीअनुसार सम्पदा संरक्षण अभियानलाई वडा, टोल र समुदायस्तरसम्म विस्तार गरिनेछ । यसका लागि वडा समिति, गुठी, मठमन्दिर व्यवस्थापन समिति, विहार तथा सम्पदास्थलसँग सम्बन्धित समुदायसँग समन्वय र सहकार्य गरिनेछ । स्थानीय समुदायमा सम्पदाप्रतिको अपनत्व बढाउँदै संरक्षण, संवद्र्धन र प्रवद्र्धनका गतिविधिमा जनसहभागिता अभिवृद्धि गरिनेछ ।
सम्पदा चोरी तथा अवैध ओसारपसार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सम्पदाको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वबारे गोष्ठी, अन्तरक्रिया, अनुसन्धान र ज्ञान हस्तान्तरणका कार्यक्रम गरिनेछन् ।
महानगरपालिकाले सम्पदा तथा पर्यटन विभागका एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सम्बन्धित विभाग, वडा कार्यालय तथा सरोकारवाला निकायबीच समन्वय गराउनेछ । साथै सम्पदासम्बन्धी अभिलेख अद्यावधिक तथा सुरक्षित राख्ने र संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थासँग सहकार्य गर्ने जिम्मेवारी महानगरपालिकाको हुनेछ ।
फाउण्डेसनले सम्पदा संरक्षण, जीर्णोद्धार तथा पुनःस्थापनाका लागि प्राविधिक ज्ञान, सीप र विज्ञ सेवा उपलब्ध गराउनेछ । सम्पदा संरक्षणसम्बन्धी तालिम, गोष्ठी तथा अन्तरक्रियामा प्राविधिक सहयोग गर्नुका साथै आवश्यक नीति, कानुन, कार्यविधि र मापदण्ड निर्माणमा समेत सुझाव दिनेछ । चोरी भएका वा हराएका सम्पदाको खोजी तथा पुनःप्राप्तिका लागि सम्बन्धित निकायसँग समन्वय गरी कानुनी, प्राविधिक र प्रक्रियागत काममा सहयोग गर्नेछ ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा अवधि थप गर्न सकिने तथा सहकार्यअन्तर्गत सञ्चालन हुने कार्यक्रमको निर्णय गर्दा दुवै पक्षको वित्तीय दायित्वसमेत निर्धारण गरिने व्यवस्था गरिएको छ ।

