मुन्दु-सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने
काठमाडौँ, कार्तिक, २७ । मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले स्थानीयवासीसँग हालै भएको छलफलका क्रममा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका स्थानीय सडकको मर्मतसम्भार गर्नुका साथै धार्मिक तथा पर्यटकीय महत्व बोकेको ऋणमोक्ष धामसम्म पुग्ने सडकसमेत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । साथै स्थानीयको दैनिक जनजीवन र धार्मिक तथा पर्यटकीय गतिविधिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
