पर्सामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

पर्सा, ७ जेठ । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्लो समय कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको हाे ।

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला परेकाे महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ ।

वीरगन्ज महानगर क्षेत्रमा गत आव २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेलापरेको थियो जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ । यस्तै आव २०७७/७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६/७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताउनुभयो ।

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६/७७ देखि वीरगन्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।

‘‘सुरुमा कुपोषित बालबालिकालाई हामीले ओटिसी सेन्टरमा भर्ना गर्छाैँ”, प्रमुख कुर्मीले भन्नुभयो, ‘‘ओटिसी सेन्टरमा भर्ना भएका बच्चाको पहिला भोक जाँच गर्छाैँ, अनि पोषणयुक्त खाना खुवाउँछौँ ।” खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगन्जस्थित पोषण पुनःस्थापना गृहमा पठाउँछौँ । पोषण पुनःस्थापना गृहमा बच्चा र आमालाई राखेर बच्चालाई पोषणयुक्त खाना र उपचार हुने गरेको उहाँले बताउनुभयो ।

बालबालिकामा बढ्दो कुुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषण पुनःस्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको छ ।

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उहाँको भनाइ छ ।