बजेटको पूर्वसन्ध्यामा घट्याे नेप्से
काठमाडाैं, १४ जेठ । बजेटको पूर्वसन्ध्यामा आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ।
साताको पहिलो कारोबार नेप्से परिसूचक १७.३८ अंक घटेर १९४१.७४ विन्दुमा झरेको हाे । यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २७० स्टकको ४७ हजार ६७४ पटकको कारोबारमा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको ७० लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रोक्का रहेको यूनियन लाइफ इन्स्योरेन्सको आज कारोबार भएपछि कसरी कारोबार भयो भन्ने विषयमा नेप्सेले छानविन गरिरहेको छ।
यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।