दाेहाेराे अंकले घटेकाे नेप्सेसंगै कारोबार रकम पनि घट्याे

काठमाडाैं, १७ जेठ । बुधबार नेप्से परिसूचक दाेहाेराे अंकले घटकाे छ । यस दिन नेप्से परिसूचक ३८.८३ अंक घटेर १८४९.७९ विन्दुमा पुगेकाे छ भने सेन्सेटिभ इण्डेक्स ७.२८ अंक घटेको छ ।

मंगलबार उच्च अंकले घटेको बजारमा यस दिन पनि उच्च अंकले घटेको हाे । नेप्सेसंगै यसदिन शेयर काराेबार पनि घटेकाे छ ।

यस दिन २६२ स्टकको ३६ हजार ८९३ पटकको कारोबारमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको ८७ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १८१ रुपेयाँ ८० पैसा बढेर २०० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन माई खोला हाइड्रोपावरको शेयरमूल्य ६.४३ प्रतिशत बढेको छ।

यस दिन युनिलिभर नेपालको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एशियन हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३४ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्को यस दिन साढे ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।