शेयर बजारमा सामान्य अंककाे वृद्धि, कारोबार रकम भने घट्याे

काठमाडाैं, ३२ जेठ । बिहिबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ भने काराेबार रकम घटेकाे छ । यस दिन कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ५ अंक बढेर २०४२.०७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ।

अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन घटेर २७० स्टकको ५२ हजार ८१४ पटकको कारोबारमा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।

बिहिबार सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो होटलको शेयरमूल्य यस दिन १६ रुपैयाँ २० पैसा बढेर १७८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन अभियान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने बिपिडब्लु लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८६ प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशत बढेको छ।

यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३६ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ।