मकवानपुरको मनहरी गाउँपालिकामा दुइवटा ट्रक जुधेर आगलागी, तीनजनाको घटनास्थलमै मृत्यु
मकवानपुर, २३ असार । मकवानपुरको मनहरी गाउँपालिकामा दुइवटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा दुई जना सख्त घाइते भएका छन्।
हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक जुधेर तीन जनाले घटनास्थलमै ज्यान गुमाएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहका छन् ।
आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ ।
कार्कीका अनुसार शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएका हुन् ।