शङ्कास्पद कागजात देखिएका कारण जोर्डन जान रोकिए १५ जना

काठमाडाैं, २४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना रोकिएका छन् ।

अध्यागमन विभागले जोर्डन जान लागेका उनीहरूको कागजात अध्ययन गर्दा शङ्कास्पद देखिएका कारण अनुसन्धानका लागि जोर्डन जान रोकिएको हाे ।

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला रहेका छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त विषयमा अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ ।”

उहाँका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।