शेयर बजार करिब स्थिर, कारोबार रकम भने बढ्यो

काठमाडाैं, २५ असार साेमबार नेप्से परिसूचक करिब स्थिर रहेको छ । अघिल्लो कारोबार दिन २८.३८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ०.८० अंक घटेर २०७६.९६ विन्दुमा झरेको छ।

यस सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ । सोमबार नेप्से करिब स्थिर रहेपनि कारोबार रकम भने बढेको छ।

यस दिन २९३ स्टकको ६५ हजार ३१७ पटकको कारोबारमा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने श्वेत गंगा हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्इ साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्इ सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ३३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको संस्थापक शेयरको करिब २५ करोड रुपैयाँ बराबरको कारोबर भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।