ताप्लेजुङका महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

ताप्लेजुङ, ३१ असार । ताप्लेजुङमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।

फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताउनुभयो ।

बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो ।

नगर उपप्रमुख ओझाका अनुसार फक्ताङ्लुङ गाउँपालिकाका एकजना र फुङ्लिङ नगरपालिकाका छ जना गरी सात जना बिरामीको शल्यक्रियाको तयारी गरिएको थियो । “एकजनाको रक्तचापमा समस्या देखिएको र एकजनाको घाउसहितको सङ्क्रमण देखिएकाले घाउ नसुकी शल्यक्रिया सम्भव नहुने चिकित्सकले बताएपछि उहाँहरुको पाठेघरको शल्यक्रिया हुन नसकेको हो”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँहरुको उपचार गरिने उहाँको भनाइ थियो ।

नगरपालिकाको लामो प्रयासपछि शिविर सम्भव भएको भन्दै उपप्रमुख ओझाले चालु आर्थिक वर्षको बजेटममार्फत शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य निर्देशनालय धनकुटालगायत स्थानीय नागरिलाई शिविर सफलतापूर्वक सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो । महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुने भएकाले समयसमयमा उपचार गरी परामर्श लिनुपर्ने शिविरमा संलग्न चिकित्सको भनाइ छ ।

पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयमा ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको सङ्क्रमणलगायत समस्या महिलामा देखिने गरेको चिकित्सकको भनाइ छ ।