कांग्रेस बैठकः एमाले परिपक्व प्रमुख प्रतिपक्षी भएको लेखकको ठहर, गठबन्धन जोगाउन खड्काको आग्रह

काठमाडौं, साउन २ । नेपाली कांग्रेसको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालयमा सुरू भएको छ । बैठक एक वर्षपछि बसेको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ । महामन्त्री गगनकुमार थापाले २१ पृष्ठ लामो सांगठनिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिवेदनमा साउन, असोज, मंसिर, माघ चैत र जेठको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बस्ने उल्लेख छ । त्यसैगरी प्रतिवदेनमा कम्तीमा दुई वटा बैठक उपत्यका बाहिर बस्ने उल्लेख छ । भदौ १५ सम्म सबै विभाग गठनलाई पूर्णता दिने, १४औं महाधिवेशनमा क्रियाशील सदस्य भैसकेकालाई क्रियाशील सदस्यता साउन मसान्ता भित्र कार्ड वितरण गर्ने, क्रियाशील सदस्य वर्ष भरी नै वितरण गर्ने प्रस्ताव महामन्त्री थापाले पेस गर्नुभएको छ ।

केन्द्रीय कार्य समिति बैठकमा संसदीय काम कारबाहीको रिपोर्ट पेश गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व भएको आरोप लगाउनुभयो । ‘एमाले आक्रामक, अधैर्य छ । तर, परिपक्व प्रमुख प्रतिपक्षी देखिएको छ । अन्य प्रतिपक्षीआक्रामक, अधैर्य र अपरिपक्व छन् । उनीहरुमा धैर्यको पनि कमी देखिन्छ ।’ लेखकले नाम नलिनु भएका अन्य प्रतिपक्षी भनेका रास्वपा र राप्रपा हुन् ।

सरकारमा कांग्रेसको नेतृत्व गर्दै आउनु भएका उपप्रधान मन्त्री समेत रहनु भएका कांग्रेस उपसभापति पुर्णवहादुर खड्काले गठबन्धनका दलहरुलाई चित्त दुख्ने र भड्किने खालका कुनै पनि गतिविधि नगर्न केन्द्रीय समितिमा आग्रह गर्नुभयो ।

बैठकमा सरकारका काम कारवाहीको बारेमा प्रतिवेदन पेश गर्दै उपप्रधानमन्त्री खड्काले निकै मेहनत गरेर गुमिसकेको सत्तामा कांग्रेसलाई फर्काइएको स्मरण गराउँदै ठूलो दल भएकाले कांग्रेसको भूमिकाले अन्य दललाई विश्वासमा लिएर जाने वातावरण बनाउने र प्रतिपक्षलाई समेत साथमा लिएर जाने भूमिका खेल्नुपर्ने बताउनुभयो ।