बी.पी नगरमा कांग्रेसका प्रदेश सभापतिहरुको गर्जनः ‘हामीलाई भूमिकाविहीन बनाउन खोजेको हो ?’
काठमाडौं, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ । हिजो मंगलबारबाट सुरु केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको हो । हिजोको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठको वार्षिक कार्यक्रमको कार्यतालिकामा पेश गर्नुभएको थियो ।
आजको बैठकमा प्रदेश सभापतिहरूले धारणा राखेका छन्। उनीहरुले कार्यतालिकामा प्रदेशलाई भूमिकाविहीन बनाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले महामन्त्री थापाले ल्याएको कार्ययोजनामा प्रदेशको भूमिका समावेश नगरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रदेश समिति आवश्यक छैन भने कांग्रेसले संघीयतामा केन्द्र र स्थानीय तह मात्रै छ भन्ने आँट गरोस भनि आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले के कारण नयाँ दल आइरहेका छन्, पुरानाका केही कमजोरी छन् कि खोजी गरौं र सच्याऔं भन्दै तलदेखि माथिसम्मका जनप्रतिनिधि र पार्टीबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पनि प्रदेशलाई केन्द्रले उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । यद्यपि, उहाँले महामन्त्री थापाले ल्याएका कार्यक्रम आधामात्रै कार्यान्वयनमा आए पनि पार्टी सच्चिने दिशातर्फ लम्कने धारणा राख्नुभयो ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पनि महामन्त्री थापाले हौसिएर वार्षिक कार्यतालिका ल्याएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गर्नुभयो । उहाँको पनि अन्य दुई सभापतिको जस्तै प्रदेशको भूमिकाप्रति कार्ययोजना मौन रहेको आरोप थियो । कर्णाली सभापति ललितजंग शाहीले स्थानीय, प्रदेश र संघीय चुनावको समीक्षा पार्टीले नगरेको भन्दै बैठकलाई चुनावी समीक्षाकै निरन्तरताका रूपमा लिएको बताउनुभयो ।
मधेस प्रदेशका सभापति कृष्ण यादवले मधेसप्रति कांग्रेस उदासिन बनेको भन्दै तरूण दल र महिला संघ विस्तार गर्दा केन्द्रले जिल्ला र प्रदेशसँग समन्वय नगरेको आरोप लगाउनुभयो । गणेश प्रवृत्ति भएका र रूखमा भोट नहाल्नेलाई जिम्मेवारी दिने, काम गर्नेलाई भूमिका नदिने, काम नगर्नेलाई पद दिने जस्ता कारणले कांग्रेस कमजोर भएको उहाँको भनाई थियो ।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले प्रदेश कमजोर बनाउन पार्टी लागेजस्तो देखिएको आरोप लगाउनुभयो । उहाँले पार्टी एकताबद्ध भएर नगए २०८४ को चुनाव लड्न गाह्रो पर्ने बताउनुभयो ।