कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ, साउन २७ । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीहरूले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। केन्द्रमा फेरिएको सत्ता समीकरण र प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् । मन्त्री सुनुवारको नेतृत्वमा सरकारमा सहभागी भएका उनीहरूले आज मुख्यमन्त्री निवास पुगेर संयुक्त रूपमा राजीनामा पत्र हस्तान्तरण गरेका थिए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीका अनुसार नेकपा (एमाले) र अन्य राजनीतिक दलहरूबीच भएको पछिल्लो तीनबुँदे सहमतिपश्चात् नेपाली कांग्रेस सरकारमा बसिरहनु औचित्यपूर्ण नदेखिएकाले राजीनामा दिने निष्कर्षमा पुगिएको हो। बदलिएको राजनीतिक परिवेशमा सरकारलाई दिएको समर्थन र सहभागिता अन्त्य गर्दै अब कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने देखिएको छ ।

नेपाली कांग्रेसको बहिर्गमनसँगै अब मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वमा नयाँ समीकरणअनुसार सरकार पुनर्गठन हुने प्रक्रिया अघि बढेको छ। कांग्रेसका मन्त्रीहरूले सम्हालेका मन्त्रालयहरूमा अब नयाँ गठबन्धनमा सामेल भएका कम्युनिष्ट घटकका दलहरू सहभागी हुने तयारी भइरहेको बुझिएको छ ।