प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमााडाैं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली प्रस्थान गर्नुभएको हाे ।

प्रधानमन्त्री प्रचण्डलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, अन्य नेता तथा कार्यकर्तालगायतले उहाँलाई भ्रमण सफलताको कामना गर्दै बिदाइ गर्नुभयो । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उहाँको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ ।