बोडेका सुकुमवासीलाई आन्दाेलन पछि फेरि दिन थालियो खाना
काठमाडौं, १३ मङ्सिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको भवनमा आश्रय लिइरहेका सुकुमवासीलाई पुनः खानाको व्यवस्था गरिएको छ ।
प्रशासनले अस्थायी सेल्टर छाड्न निर्देशन दिएपछि सुकुमवासीले थाल ठटाएर विरोध प्रदर्शन गरेका थिए । त्यसपछि जेनजी अगुवाहरूको पहलमा शुक्रबारदेखि खाना खुवाउन थालिएको हो ।
उक्त भवनमा १९ परिवारका ५७ जना बस्दै आएका छन् । उनीहरूले स्थायी बसोबासको व्यवस्था नभएसम्म सेल्टर नछाड्ने अडान लिएका छन् ।
शनिबार भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सेल्टर पुगेर सुकुमवासीसँग भेट गरेकी थिइन् । सुकुमवासीले सरकारले जग्गा भएको दाबी गरे पनि आफूहरूको नाममा कुनै जग्गा नभएको बताएका छन् ।
