काठमाडौंमा खसीको भन्दै बाख्रीको मासु बिक्री, ५१ बाख्रीसहित आठ जना पक्राउ
काठमाडौं, १३ मङ्सिर । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा पक्राउ परेका आठ जनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले थप ५१ वटा बाख्री नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार टुकुचा खसी बजारबाट ५६७ किलो बाख्रीको मासुसहित आठ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूले बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
थप अनुसन्धानका क्रममा प्रहरी टोलीले ५१ वटा बाख्री फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका बाख्री प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
