‘फेसियल’ उपचारका लागि उपत्यकामा अलग्गै अस्पताल स्थापना हुने
काठमाडाैं, ६ साउन । अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ ।
अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा सुमित सिंहको पहलमा काठमाडौंको नख्खुमा उक्त अस्पताल स्थापना गर्न लागिएको हाे ।
आगामी डेढ वर्षमा उक्त अस्पताल स्थापना हुने आज आयोजित एक कार्यक्रममा जनाएकाे छ ।
क्रेनियोफेसियल सर्जन प्रा डा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा सञ्चालन हुने यस अस्पतालमार्फत मानिसको अनुहारमा हुने खुँडोपन, चोटपटक या दुर्घटनाबाट अनुहार कुच्चिएको या बिग्रिएको र अन्य समस्याको पनि उपचार हुनेछ ।
सो अस्पतालको स्थापना नहुँदासम्म एकद्वार उपचार केन्द्रका रूपमा वसुन्धरामा रहेको कान्तिपुर डेन्टल जनरल अस्पतालबाट सो सेवाको सुरुआत गरिएको छ । क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका विभिन्न मुलुकहरूमा पनि सञ्चालनमा ल्याएको छ ।
नेपालका विपन्न नागरिकलाई निःशुल्करूपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलोपटक उक्त अस्पताल स्थापना हुन लागेको क्रेनियोफेसियल सर्जन डा सिंहले जानकारी दिनुभयो ।
डा सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष पाँच सय जनालाई निःशुल्क सेवा दिने र अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार पाँच सय जनालाई निःशुल्क सेवा दिने लिक्ष्य लिइएको छ ।
