प्रारम्भिक बाल विकाससम्बन्धी पुस्तक लाेकार्पण

काठमाडौं, १४ साउन । बालअधिकार र बालबालिकाहरुको क्षेत्रमा क्रियाशील संस्था चाईल्ड नेपालकाे सहकार्यमा तयार भएकाे प्रारम्भिक बाल विकाससम्बन्धी पुस्तक लाेकार्पण भएकाे छ ।

नेपालकाे प्रारम्भिक बाल विकाससम्बन्धी पाठ्यक्रम २०७७ लाई आधार मान्दै बालकक्षामा सिकाई कृयाकलापलाई सहजीकरण गर्ने उदेश्यका साथ चाईल्ड नेपाल र बुढानिलकण्ठ नगरपालिकाकाे सहकार्यमा उक्त पुस्तक तयार गरिएकाे हाे ।

छहारी भवन बुढानिलकण्ठमा पुस्तक लाेकार्पण गर्नुहुँदै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले प्रारम्भिक बाल विकाससम्बन्धी ५५ वटा सिकाई कृयाकलापहरू समेटिएकाे उक्त पुस्तक शिक्षक/शिक्षिकाले प्रयाेगमा ल्याउनुपर्ने बताउनुभयाे ।

उहाँले पुस्तकबाटनै धेरै कुरा बालबालिकाहरुलाई सिकाउनका लागि सहज हुने भन्दै सिकाई कृयाकलापलाई पुस्तकले सहजिकरण हुने बताउनुभयाे ।

कार्यक्रममा नगर शिक्षा प्रमुख ललित विक्रम सिंहले पुस्तकमा समेटिएकाे प्रारम्भिक बाल विकाससम्बन्धी ५५ वटा सिकाई कृयाकलापहरूले सहजकर्ताहरुकाे क्षमता अभिवृद्धिमा सहयाेग पुर्याउनेमा जाेड दिनुभयाे ।

कार्यक्रममा चाईल्ड नेपालका अध्यक्ष डा. कृष्ण सुवेदी, नगर सामाजिक विकास समितिका संयाेजक शान्ता पुडासैनी, विज्ञ शान्ता दाहाल, चाईल्ड नेपालका कार्यकारी निर्देशक माेहन दंगालले पुस्तक सम्बन्धमा चर्चा गर्नुभएकाे थियाे ।