अनलाइन दुर्व्यवहार र चरित्रहत्या आरोपमा नौ जना पक्राउ
काठमाडौं, ११ मङ्सिर । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकालाई अनलाइन दुर्व्यवहार गर्ने, अश्लील सामग्री पठाउने, धम्की दिने तथा चरित्रहत्या गर्ने आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरू पक्राउ परेका हुन् । मङ्सिर ९ गते छ जना र मङ्सिर १० गते तीन जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू नक्कली सामाजिक सञ्जाल खाता बनाएर अश्लील सामग्री पठाउने, व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिने, ब्ल्याकमेलिङ गर्ने र अश्लील गालीगलौजमार्फत चरित्रहत्या गर्ने आरोपमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विभिन्न जिल्लाका व्यक्ति तथा पोखराबाट नियन्त्रणमा लिइएका १५ र १६ वर्षका दुई बालकसमेत छन् ।
प्रहरीले अनलाइन दुर्व्यवहार, धम्की, चरित्रहत्या तथा व्यक्तिगत तस्बिर र भिडियोको दुरुपयोगबाट पीडित भएकालाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन आग्रह गरेको छ । साथै, यस्ता साइबर अपराध नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिने जनाएको छ ।
