पाकिस्तानमा इस्लामवादी राजनीतिक र्‍यालीमा विस्फोट, ३५ जनाको मृत्यु, दुई सय भन्दा बढी घाइते

एजेन्सी, १४ साउन । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा ३५ जनाको मृत्यु भएकाे छ ।

घाइतेहरूको उद्धार अभियान जारी छ। प्रहरीले विस्फोटनको कारणबारे केही खुलाएको छैन। स्थानीय टेलिभिजनहरूमा प्रसारित दृश्यहरूमा एम्बुलेन्सले आदिवासीहरूको बसोबास रहेको बाजौर जिल्लास्थित अस्पतालमा बिरामीहरू ओसारिरहेको देख्न सकिन्छ।

उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा भएको सो विस्फोटनमा कम्तीमा ३५ जनाको मृत्यु भएको र कम्तीमा दुई सय भन्दा बढी घाइते भएको विवरण आएको छ।

अस्पतालहरूमा मानिसहरूको घुइँचो छ र कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेका विवरण आएका छन्। अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेका छन्।

विस्फोट भएको स्थानमा जमीयत उलेमा-ए-इस्लाम-फज्ल(जेयूआई)ले एउटा बैठक आयोजना गरिरहेको थियो।

अधिकारीहरूले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र उनीहरूले मृतकको सङ्ख्या अझ बढ्नसक्ने बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *