युक्रेन युद्ध अन्त्य र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट्ने
युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौता
काठमाडौँ, कार्तिक २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौता तथा युरोप-रुसबीच नयाँ सुरक्षा व्यवस्था निर्माणका विषयमा छलफल गर्न बिहीबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने तयारी गर्नुभएको छ ।
समाचार संस्था एक्सियोसका अनुसार अबु धाबीमा सम्पन्न दुईदिने शान्ति वार्तामा युरोपको सुरक्षा चासो सम्बोधन गर्ने प्रस्ताव प्रमुख विषय बनेको थियो । अमेरिकी दूतहरूले रुसलाई आफ्ना सुरक्षा माग प्रस्तुत गर्न तथा तनाव कम गर्दै भविष्यमा युरोपेली मुलुकमाथि आक्रमण नगर्ने विश्वास दिलाउने उपाय अघि सार्न आग्रह गर्नुभएको थियो ।
वार्ताका क्रममा रुसी र युक्रेनी प्रतिनिधिबीच सुरुमा तनाव देखिए पनि पछि छलफल रचनात्मक बनेको बताइएको छ । बैठकमा युद्धबन्दी आदानप्रदान गर्ने सहमतिसमेत भएको छ । उक्त आदानप्रदान युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हुन सक्ने जनाइएको छ । यद्यपि, बन्दीको सङ्ख्या पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि टुङ्गो लगाइनेछ ।
अमेरिकाले युक्रेनमा शान्ति स्थापना गर्ने सम्झौता र युरोप–रुसबीचको सुरक्षा संरचनाबारे एकैसाथ वार्ता अघि बढाउन चाहेको छ । तर, प्रस्तावित नयाँ सुरक्षा व्यवस्था युद्ध अन्त्य गर्ने सहमति भएपछि मात्र कार्यान्वयनमा ल्याइने बताइएको छ ।
रुसले शान्ति वार्तामा युरोपेली प्रतिनिधिको सहभागिताको विरोध गर्दै आए पनि अमेरिकाले युरोपेली मुलुकको सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ । जेलेन्स्की र पुटिन दुवैले भविष्यमा आफ्नो सुरक्षा सुनिश्चित हुने प्रत्याभूति खोजिरहेकाले नयाँ सुरक्षा व्यवस्था वार्ताको महत्त्वपूर्ण विषय बनेको स्रोतले जनाएको छ ।
अमेरिकाले युरोप र युक्रेनको सहमतिबिना रुससँग कुनै सुरक्षा सम्झौता नगर्ने स्पष्ट पारेको छ । साथै, युरोपको सुरक्षा चासोसम्बन्धी निर्णयमा रुसलाई एकपक्षीय रूपमा रोक्ने अधिकार नदिइने अमेरिकी पक्षको भनाइ छ ।
कुशनर र विटकफले बिहीबार राति जेलेन्स्कीसँग भेट गर्न मस्कोबाट आयरल्यान्डको राजधानी डब्लिन जाने कार्यक्रम रहेको छ । प्रस्तावित सुरक्षा व्यवस्थाबारे डब्लिनमा हुने युरोपेली नेताहरूको शिखर सम्मेलनमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।
यद्यपि, रुस र युरोपबीच व्यापक सुरक्षा सम्झौता गर्ने प्रस्तावप्रति युरोपेली कूटनीतिक वृत्तमा असहमति तथा विभिन्न प्रश्न कायमै रहेको एक्सियोसले जनाएको छ ।
