पूर्व-पश्चिम राजमार्गकाे टिकौली जंगलमा सवारी साधन एक आपसमा ठाेक्किएर २० जना घाइते

चितवन, ३१ साउन । पूर्व-पश्चिम राजमार्गकाे टिकौली जंगलमा ८ वटा सवारी साधन एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजकाे बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका हुन् ।

नवलपुरको गैंडाकोटमा रहेकाे अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाे छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर-१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते भएको डिएसपी पण्डितले बताउनुभयाे ।

त्यस्तै रत्ननगर-१४ का पुर लामा, रत्ननगर-१४ कै बुद्रिराम तामाङ, रत्ननगर-१६ का रेशम पोखरेल, रत्ननगर-१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर-४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै गैंडाकोट-८ का लोकराज लामा, रत्ननगर-१४ बस्ने ३३ वर्षका शंकर परियार, रत्ननगर-१४ कै दिवेश शाक्य, रत्ननगर-१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर-३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।