असोज २५ देखि पचली भैरव जात्रा, ३० गते यःसिँ ढालिने
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार भैरवलाई राष्ट्रको रक्षक र क्षेत्रपालका रूपमा लिने गरिन्छ। पचली भैरव जात्रामा देवतालाई हनुमानढोकासम्म पुर्याई सरकारी पूजा ग्रहण गराउने तथा जीवित देवी कुमारीको दर्शन गराउने परम्पराले यस जात्राको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।
काठमाडौँ, असोज २४ । काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको श्री पचली भैरव जात्रा तथा पूजा कार्यक्रम यस वर्ष असोज २५ गतेदेखि सुरु हुने भएको छ। वि.सं. २०८३ को सार्वजनिक कार्यतालिकाअनुसार जात्रा असोज ३० गते षष्ठीका दिन यःसिँ (लिङ्गो) ढालेर सम्पन्न गरिनेछ।
पचली भैरव गुथियार, रञ्जितकार (छिपा) समाज, रुद्रविनायकलगायत विभिन्न खलः पुचःको सहभागितामा परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार जात्रा सञ्चालन गरिनेछ।
कार्यतालिकाअनुसार असोज २५ गते आइतबार साँझ ४ बजे गुथियारको विधिवत् पूजा सम्पन्न भएपछि बाकुनिन छेंबाट क्वहिति पुँतय् (चित्रकार) को स्थानमा श्री पचली भैरव देवता विराजमान गराइनेछ। असोज २६ गते सोमबार साँझ ४ बजे बाजागाजासहित यःसि जात्रा गरी यःसि ख्यः (पचली) मा यःसिँ पुर्याइने कार्यक्रम छ।
त्यसैगरी, असोज २७ गते मंगलबार बिहान ८ बजे विधिवत् देवता साधना गरी गुरुजु पल्टनको साइतमा यःसिँ ठड्याइनेछ। यससँगै जात्राका प्रमुख धार्मिक तथा सांस्कृतिक गतिविधि अघि बढ्नेछन्।
असोज २८ गते बुधबार विभिन्न धार्मिक विधि, पूजा तथा परम्परागत बाजागाजासहित श्री पचली भैरव देवतालाई कोहिति थकु जुजुको घरमा भित्र्याइने कार्यक्रम रहेको छ।
थकु जुजुको घरमा देवतालाई आसनमा विराजमान गराएपछि परम्परागत विधिअनुसार आचाजुबाट पूजा गरिनेछ। त्यसपछि भीमसेनस्थान, क्वहिति, जैसीदेवल, ह्युमत, ओन्दे, मुस्किला गणेश र टेकु हुँदै देवतालाई पचली भैरव पुर्याइनेछ। त्यहाँ होम सम्पन्न भएपछि गथु बाजाको तालमा च्यागु खल, पचली भैरवका पुजारी तथा गुथियारका थाकुलि र थाकुलि खलकको सहभागितामा घ्याम्पो भर्ने परम्परागत विधि सम्पन्न गरिनेछ।
असोज २९ गते बिहीबार पञ्चमीका दिन बिहान ११ बजे ताःछुइगु तथा दिउँसो १ बजेदेखि गणेशद्यः, गुथियार र अजिमा पूजाको तयारी गरिनेछ। साँझ ४ः३० बजे द्योसिँको पूजा गरी रुद्रविनायकलाई आसनमा विराजमान गराइने कार्यक्रम छ।
विशेष पूजा सम्पन्न भएपछि निराहार बसेको मानवरूपी अजिमालाई घ्वाःयागु विधि गरिनेछ। उक्त विधि सम्पन्न भएपछि पुजारी तथा गुरुजु पल्टनको सहभागितामा जात्रा सुरु हुनेछ। जात्राका क्रममा पचली भैरवको पीठबाट देवतालाई विभिन्न स्थान हुँदै हनुमानढोका पुर्याइनेछ।
हनुमानढोकामा सरकारी पूजा ग्रहण गर्ने तथा जीवित देवी कुमारीको दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बसन्तपुरमा श्वेत भैरवको परिक्रमा गरी राति ९ः१० बजे न्हूँघः छेंमा लशकुस गरेर देवतालाई भित्र्याइनेछ।
परम्पराअनुसार १२ वर्षसम्म १२ जना साथीको घरमा देवतालाई लैजाने चलन छ। सोही परम्पराअनुसार यस वर्ष पनि सम्बन्धित घरमा देवतालाई स्वागत गरी आसनमा विराजमान गराएपछि जात्राको मुख्य विधि सम्पन्न हुनेछ।
जात्राको अन्तिम दिन असोज ३० गते शुक्रबार बिहान ९ बजे विधिवत् देवता साधना गरी यःसिँ ढाल्ने (कोथलेगु) कार्यक्रम रहेको छ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार भैरवलाई राष्ट्रको रक्षक र क्षेत्रपालका रूपमा लिने गरिन्छ। पचली भैरव जात्रामा देवतालाई हनुमानढोकासम्म पुर्याई सरकारी पूजा ग्रहण गराउने तथा जीवित देवी कुमारीको दर्शन गराउने परम्पराले यस जात्राको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।
काठमाडौँको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परासँग जोडिएको पचली भैरव जात्राले स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। जात्रालाई परम्परागत विधि र मान्यताअनुसार व्यवस्थित तथा सभ्य रूपमा सम्पन्न गर्न सम्बन्धित गुथी, खलः पुचः र स्थानीय समुदायले तयारी गरिरहेका छन्।
