सुनिता डंगोलवाट प्रभावित मायाको सुन्दरता
–श्याम स्मृत
काठमाडौं । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र सौन्दर्यकर्मीको आवश्यकता पर्छ। जसको कारण हाल देशभरवाटै अहिले यस संवन्धी प्रशिक्षण लिन आउनेको संख्यामा पनि बृद्धि भएको कारण सौन्दर्य कला तथा सौन्दर्यकर्मीको महत्व र आवश्यकतामा बृद्धि भएको सामाजिक अभियन्ता तथा सौन्दर्यकर्मी सुन्दरी माया गजमेरको भनाई छ।
पूर्वी नेपालको झापा दमकमा जन्मी–हुर्केकी अनि पूर्वी नेपालले नै सौन्दर्यकर्मी तथा सामाजिक अभियन्ता भनेर चिनाएको बताउने माया गजमेरले सौन्दर्य कर्म गर्दैआएको पनि १५ बर्ष भैसकेको छ।
१५ बर्षअघि पूर्वी नेपालको दमक झापामा सान व्युटीपार्लर तथा ट्रेनिङ सेन्टर खोलेर सौन्दर्यकला व्यवसायमा आएकी मायाको मायावी सौन्दर्यकला पूर्वी नेपालमा मात्र नभइकन यतिखेर संघीय नेपालको राजधानी काठमाडौंमा समेत चर्चा पाउन थालेको छ। पूर्वी नेपालको झापा देखि ताप्लेजुङ, उदयपुरसम्मका महिला दिदीबहिनीहरुलाई झापा प्राविधिक शिक्षालय तथा विभिन्न संघ–संस्थामार्फत व्युटीसियन तालिम प्रदान गरेर हजारौंलाई रोजगारी दिइसकेकी छन्।
आफूले जानेको सौन्दर्यकला सवै महिला दिदीबहिनीहरुलाई प्रदान गरेर रोजगार वनाउने एकमात्र लक्ष्य भएको कारण यस क्षेत्रमा दिलोज्यान लगाएर लागिपरेको जानकारी पनि सिटीभिटीको एसेसर तथा प्रशिक्षिका समेत रहेकी मायाले दिएकी छन्। मनमा लागेको कुरालाई खुलेर भन्ने तथा लेख्ने कार्य पनि गर्दैआएकी मायाको अर्को सोच राजनीति पनि हो। राजनीति मार्फत नेपाली जनतालाई राज गर्ने नभइकन उनीहरुको पिर–मर्का तथा समस्यालाई दूर गर्ने सामाजिक सेवा मार्फत राजनीतिमा लाग्ने सोच वोकेकी माया राजनीतिमा युवाहरुको नयाँ सोच तथा खोज आउन आवश्यक भएको भन्छिन्।
नेपाली जनतालाई सही समाज सेवा गर्ने मूलभूत माध्यम राजनीति नै भएको कारण सानैदेखि समाजसेवा गर्ने चाहनालाई साकार रुप प्रदान गर्न पनि भोलिका दिनमा राजनीतिमा आउन सक्ने सोच राखेकी मायाको बास्तविक गन्तव्य सौन्दर्यकर्म नै हो। यसैवाट चिनिएको र यसैवाट रोजीरोटी दिएको कारण यसलाई कालान्तरसम्म पनि अंगाल्ने मायाको स्पष्ट विचार पनि छ।
माया गजमेर नेपाली राजनीतिमा पछिल्लो समय बेग्लै धार र सोचवाट देखिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राई देखि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह तथा उपमेयर सुनिता डंगोलवाट अत्यन्त प्रभावित बनेकी छन्। यी तीनजना तन्नेरी नेताहरु सवैतिर हुने हो भने, निश्चित रुपमा देशले मुहार फेर्ने जिकिर गर्ने मौका तथा अवसर मिलेमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसंग भेटेर सहकार्य गर्ने अत्यन्त रहर भएको पनि मायाले भनेकी छन्।
उनै सौन्दर्यकर्मी अर्थात व्युटी टिचर एवम् व्युटीसियन माया गजमेरको तपाई–हाम्रो व्यस्त जीवनमा सरल तथा सहज व्युटी टिप्स यसरी दिन चुक्दिनन्। मायाको मायाबी पाँच व्युटी टिप्स तपाई–हाम्रो जीवनको लागि अत्यन्त लाभादायिक छ। पढौं, मायाको दश व्युटी टिप्स–
१) तपाई हाम्रो जीवन हिजोआज मेशिन जस्तो भैसकेको छ। हामी हरेक दिन कामको सिलसिलामा घर बाहिर हिडिरहेका हुन्छौ । घर वाहिरको प्रदुषित फोहोरी वातावरणले विशेषत महिला दिदीबहिनीहरुको अनुहारलाई विछिप्त बनाएको हुन्छ । त्यसकारण हरेक दिन फेस पिल्जिङ गरेर सुत्ने गर्नुस् । जसले आनुहारको चमक र सुन्दरतालाई जोगाउँछ ।
२) फेसमा डण्डीफोर लगायतका घाउ छन् भने बेलुका सुत्ने बेला २–३ गिलास मनतातो पानी खाने गर्नुस् । त्यसले तपाइलाई निकै राम्रो फाइदा गर्छ ।
३) व्युटी रहन सधैजसो चिल्लो खाना कम खाने गर्नुस् । उमेर अनुसार र मौसम अनुसार फेसियल पनि गर्ने गर्नुस् ।
४) पानी धेरै पिउने गर्नुस् । त्यसले तपाईको छालालाई चमकदार बनाउन सहयोग गर्दछ ।
५) जाथाभावी बजारिया सावुनको प्रयोग अनुहारमा नर्गनुस् । बरु अर्गानिक निम प्याकहरु प्रयोग गर्नुस ।
६) गुलियो भन्दा बढी तितो खानेकुरामा जोड दिनुहोस् ।
७) डण्डीफोरको घाउको लागि कागती फेसमा लगाउने गर्नुहोस् – दिनको एकपटक विहान वा वेलुकी।
८) काँचो बदाम बेलुकी भिजाएर विहान खाने गर्नुहोस् जसले तपाईलाई तन्नेरी राख्न मदत गर्दछ ।
९) यस बाहेक जीवनशैलीलाई प्राकृतिक एवं मानसिक तनाव रहीत बनाउनुहोस् । खानपिन टाइम टेवलमा खानुहोस् ।
१०)हरेक समय तनावमुक्त हुनुपर्दछ । कथंकदाचित तनाव भैहालेमा पनि सहज रुपमा लिएमा सरल तरीकाले समाधान गर्नु पर्दछ। ज्यादै तनाब भएको बेला मज्जाले सुत्नुस् या मज्जाले नुहाउनुस् । ठीक भैहाल्छ।
चाउरीपना हटाउने केही घरेलु टिप्स–
१. पाकेको मेवाको बोक्रा र भित्रको बियाँ फालेर गुदीको लेदो बनाई विहान र साँझ नियमित अनुहार लगाउनुहोस् र १५ मिनेटपछि पखाल्नुहोस्। यसमा भएको एण्टिअक्डिसेण्टले अनुहारमा भएका नराम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरी डण्डीफोर, चाउरीपना र फुस्रोपनालाई हटाउँदछ।
२. काँक्रोलाई पातलो चाना पारेर काट्नुहोस् र त्यसलाई चाउरी परेको छालामा नियमित पोत्नुहोस्। त्यसको १० मिनेटपछि राम्रोसँग सफा चिसो पानीले पखाल्नुहोस्। यसले विशेष गरी अनुहारको फुस्रोपनालाई हटाई चकमता प्रदान गर्न मद्दत गर्दछ।
३. भुइँकटहरमा प्रशस्त भिटामीन–सी पाइन्छ, जुनलाई डण्डीफोर र अन्य दागधब्बाको लागि अचुक शत्रु मानिन्छ। त्यसैले भुइँकटहरको बोक्रा तासेर त्यसको बोक्रालाई अनुहारमा पोत्नुहोस्। भित्रको फलले मसाज गर्दा पनि उत्तम हुन्छ र भुइँकटहर खाने बानीले शरीरको प्रतिरक्षा प्रणालीमा समेत सुधार आउँदछ।
४. २ चम्चा महमा आधा टुक्रा कागतीको रस मिसाई दैनिक अनुहारमा लेप्नाले अनुहारको चाउरीपना हटाउँदछ र दागधब्बालाई पनि निको पार्दछ।
५. काँचो नरीवलभित्रको पानीलाई गिलासमा राखेर त्यसैले चाउरी परेको ठाउँमा नियमित मालिस गर्नाले पनि चाउरीपना हटाई अनुहारमा चमकता ल्याउन मद्दत गर्दछ।
६. मासको दाललाई दूधमा भिजाएर रातभरी छोड्दिनुहोस् र विहान उठेर त्यसको लेदो बनाई अनुहारमा लगाउनुहोस्। १५ मिनेटपश्चात सफा चिसो पानीले पखाल्नुहोस्। यसो गर्नाले केही हप्तामा बिस्तारै अनुहारको चाउरीपना हट्दै जानेछ।
७. केरा खानुको अनेकौँ फाइदाहरू छन्, त्यसलगायत पनि विशेष गरी यसको बोक्रा फलभन्दा बढी फाइदाजनक हुने हालै भएको खोजबाट पत्ता लागेको छ। केराको बोक्राले मुटुरोगलाई राहत त दिन्छ, तर यसलाई अनुहारमा लगाउनाले चाउरीपना र फुस्रोपना पनि हटाउँदछ भन्ने उक्त खोजबाट पत्ता लागेको छ। त्यसेले अब केरा खाएपछि बोक्रा फाल्ने भूल नगर्नुहोला।
यी घरेलु उपायका व्युटी टिप्स वाहेक तपाईहरुका शारीरिक सौन्दर्यका जटिल समस्याहरु भएमा संवन्धित सौन्दर्यविज्ञ तथा चिकित्सकलाई सम्पर्क गरेर उपचार गर्न र गराउन पनि सौन्दर्यविज्ञ माया गजमेरले सर्वसाधारण सवैलाई अनुरोध गरेकी छन्।

(नामी साप्ताहिकवाट साभार)