कोशीमा थापालाई विश्वासको मत फलामको च्युरा, आज विश्वासको मत नलिने मुडमा गठबन्धन
४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी गरे पनि आजको उक्त कार्यक्रम टर्ने देखिएको छ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले आफु अस्वस्थ्य भएको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएसँगै गठबन्धनका तर्फबाट विश्वासको मत लिने मुख्यमन्त्री उद्वव थापा हच्किनु भएको छ ।
उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिएसँगै आफूले विश्वासको मत नपाउने निश्चित भएपछि थापा हच्किनु भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएकी उपसभामुख दनुवारले उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार मन्सुरीलाई पत्राचार गरेर बैठकको चलाउने जिम्मेवारी तोक्नु भएको हो । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत (४७ मत) मात्रै छ । मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था हुँदैन ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिने भए पनि मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उहाँको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् । इस्राइल मन्सुरी कांग्रेसकातर्फबाट सांसद हुनुहुन्छ । उहाँले बैठकको नेतृत्व गरेपछि विश्वासको मत थापाले प्राप्त गर्न सक्नुहुन्न ।
आफूले आजकै अवस्थामा विश्वासको मत लिने अवस्था नभएपछि थापा आजै विश्वासको मत नलिने मुडमा पुग्नु भएको हो । उहाँले सञ्चारकर्मीसँग पनि आजै विश्वासको मत लिने मुडमा नरहेको जानकारी गराउनुभयो । ‘विश्वास मत लिने समय १३ गतेसम्म छ । आज नभए १३ गते भित्र लिन्छौँ,’ उहाँले भन्नुभयो, ‘विश्वासको मत लिने आजको दिन टर्यो । उपसभामुख नै अनुपस्थित भएर उपचार गर्न जाने भन्ने कुरा बिहान ९ बजे जानकारी भयो ।’
उहाँले कहिले विश्वासको मत लिने भन्ने कुरा कार्य व्यवस्थापन परामर्श ससितिले निर्णय गर्ने भन्दै कानुनी लडाईँमा जानेसम्मको तयारीमा रहेको संकेत गर्नुभयो । । उहाँले संसदीय परम्परालाई तोड्ने काम भएको पनि आरोप लगाउनुभयो । ‘संसदीय परम्परालाई उहाँले तोड्ने काम गर्नुभयो । यो व्यवस्थालाई धरापमा पार्ने काम गर्नुभएको छ । यसले राज्य व्यवस्था र संसदीय व्यवस्थामा द्वन्द्व सिर्जना गर्ने काम गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामी द्वन्द्वबाट जाँदैनौं सहमतिबाटै जान चाहन्छौं ।’
सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । प्रदेशसभा सञ्चालनककै लागि भनेर सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुनुहुन्छ । उहाँले केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिइसक्नु भएको छ । अध्यक्ष मण्डलमा उहाँ पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताउनु भएको छ भने अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य हुनुहुन्छ । उपसभामुख दनुवारले मन्सुरीलाई जिम्मेवारी दिनुभएको छ ।
अन्तिम समयमा उपसभामुख दनुवारले पनि सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्दै पत्र लेखेपछि कोशी सरकार संकटमा परेको छ ।
दनुवार मात्रै होइन प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले) का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेशसभा सचिवालयमा जानकारी गराउनुभएको छ । यो अवस्था हेर्दा कोशीमा थापालाई विश्वासको मत लिने संकट पर्ने देखिन्छ ।
संविधानको धारा १६८ को २ अनुसार गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँले विश्वासको मत नपाए सोही धाराको उपधारा ३ अनुसार ठूलो दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नुहुने छ ।