महिला टी-२० क्रिकेट : मलेसियाद्वारा नेपाल ६ विकेटले पराजित
काठमाडौं, ८ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गतकाे तेस्रो खेलमा मलेसियाद्वारा नेपाल ६ विकेटले पराजित भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएकाे खेलमा जितका लागि मलेसियाले पाएको ८५ रनको लक्ष्य १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेकाे हाे ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए ।
त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो । तर मलेसियासँग भने नेपाल पराजित भयो ।