साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

काठमाडाैं, २१ भदाै । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेकाे छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २७६ स्टकको ३२ हजार १३९ पटकको कारोबारमा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शुभम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड १५ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ ।