विश्वकप एसिया क्षेत्र छनोट : नेपाल थाईल्यान्डसँग पराजित
काठमाडौं, २२ भदाै । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सेमिफाइनलमा नेपाल थाईल्यान्डसँग पराजित भएको छ ।
शुक्रबार मलेसियास्थित बांगीको युकेएम-वाइएसडी ओभलमा भएको सेमिफाइनलमा थाईल्यान्डसँग नेपाल ४६ रनले पराजित भएको हो ।
थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन बनाए ।
अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३/३ विकेट लिईन् ।
टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाईन् ।
नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १/१ विकेट लिएका थिए ।
यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी-ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाएकाे छ । सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।