नेप्से परिसूचक दाेहाेराे अंकले बढ्याे

काठमाडाैं, २४ भदाै । आइतबार नेप्से परिसूचक बढेर बन्द भएकाे छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२३ अंक बढेर १९४२.६८ विन्दुमा पुगेको हाे।

यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंक बढेको छ।

यस दिन २७६ स्टकको ३३ हजार ६४ पटकको कारोबारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, शुभम् पावर, न्यादी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।

त्यस्तै, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयर करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ।