चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

चितवन, २५ भदौ । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको केसीले बताउनुभयो ।
जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।