अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल बढ्दै

पर्वतीय सङ्ग्रहालय

काठमाडौँ, कार्तिक २५ । पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ ।

पर्यटकीय याम सुरु भएसँगै सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या क्रमशः बढ्न थालेको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो । चाडपर्वको समयमा पनि सङ्ग्रहालय अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८३/८४ को कात्तिक २० गतेसम्म २० हजार ९३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । कार्यकारी निर्देशक न्यौपानेका अनुसार उक्त अवधिमा सार्क राष्ट्रका दुई हजार ८६८, सार्कबाहेकका अन्य देशका छ हजार २९ र ४१ जना प्रवासी नेपालीले सङ्ग्रहालय भ्रमण गरेका छन् ।

महिनागत विवरणअनुसार साउनमा चार हजार ९९९, भदौमा तीन हजार ३४७, असोजमा छ हजार ४०३ र कात्तिक २० गतेसम्म छ हजार १८९ जना स्वदेशी तथा विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका छन् ।

पर्वतीय पर्यटनका विविध पक्षबारे जानकारी दिने उद्देश्यले निर्माण गरिएको सङ्ग्रहालयमा हिमाली जीवनशैली, संस्कृति र पर्यटनका विशेषता अवलोकन गर्न सकिन्छ । यसले पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा आफ्नो पहिचान विस्तार गर्दै गएको छ ।

सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृति तथा भौगोलिक अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था छ । यसका माध्यमबाट हिमाली क्षेत्रको जीवनशैली र पर्वतीय पर्यटनका विविध आयाम बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *